गजल १
मेरो चिन्ता छाड्नु आमा टायर बाल्न सिकेको छु,
मेरो चिन्ता छाड्नु बाबा यो पेट पाल्न सिकेको छु ।
पढेर नी प्रमाण पत्र बिक्ने कुनै ठावै छैन,
मेरो चिन्ता छाड्नु दादा रेलिङ ढाल्न सिकेको छु ।
बन्द हड्ताल चक्का जाम पासपोर्ट पनि जाम्,
मेरो चिन्ता छाड्नु दिदी युद्ध थाल्न सिकेको छु ।
नेता गणको हतियार भोट बैंक बन्नु संगै,
मेरो चिन्ता छाड्नु भाइ शत्रु गाल्न सिकेको छु ।
देश बनाउने नेताजी साततिर फर्केपछी,
मेरो चिन्ता छाड्नु बैनी सत्ता फाल्न सिकेको छु ।
गजल २
भिरखोलाको पानीले हुर्किएको म,
लिगलिग देखि चेपे गुर्किएको म ।
काफल खान्थेँ ऐसेलु ठुलो बन डुलि,
प्रकृतिको ममतामा घुर्किएको म ।
शिरमाथी हिमाल चुली हाँस्दा गलल
आफ्नै गाँउको सानमा फुर्किएको म ।
घाँस दाउरा मेला पात हाँस्यो रमायो,
सन्नानीको मायामा सुर्किएको म ।
गजल ३
मेरा ती पत्र तिमिले हेर्यौ थुक्यौ छाड्यौ,
शिर देखि पाउसम्म केर्यौ थुक्यौ छाड्यौ ।
जता जान्थे उतै गयौ पार्यौ जालोमा,
ऐले भने काट्यौ प्वाख बेर्यौ थुक्यौ छाड्यौ ।
आफ्नै छुट्टै संसार थ्यो सोच्थे रमाउथे,
यातनाको पर्खालले घेर्यौ थुक्यौ छाड्यौ ।
चिप्लो घस्न क्यारी जान्या पेशै रहेछ,
कुन पापीको बदला फेर्यौ थुक्यौ छाड्यौ ।
अतितलाई लात मारी हास्यौ गलल,
निर्दोश यो गलामा सेर्यौ थुक्यौ छाड्यौ ।
गजल ४
हिंसा रहित दशै मान्न पाए कसो होला,
मासु साटो फल्फूल दुध खाए कसो होला ।
प्राण सबको एकै हो बाँच्ने अधिकार पनि,
सबै जन्मा सबै मन्मा छाए कसो होला ।
मिठो खाने राम्रो लाउने दक्षिणाको फुर्ति,
त्यागी सबले आशिरबाद लाए कसो होला ।
जुवा तास लङगुरबुर्जा छाडी सदभावमा,
हरेक हरेक साल दशै आए कसो होला ।
हुने खाने रमाउदा हुँदा खाने ॠणमा,
असमान खाडल मेट्दै गाए कसो होला ।
गजल ५
दुई दिनको जिन्दगीमा खलबल भए के मज्जा ?
मुस्कान माथी आँशुको मलजल भए के मज्जा ?
आँखाभरी आशाको संसार चुलाई गोरेटोमा,
बीच बाटोमा अनयासै हलचल भए के मज्जा?
रुझी भीजी असारमा रोपाइ सकी घर फर्क्यो,
मङ्सिरमास बर्षातको पलपल भए के मज्जा ?
शान्ति बार्ता गर्ने भन्दै सल्लाहको बैठक मै,
हस्तक्षार गर्ने बेला दलबल भए के मज्जा ?
गाई मारेर गधा कहिल्यै पोस्नु हुन्न भन्छन्,
घरको जग लाउदा नै ढलपल भए के मज्जा ?
गोड्यो मोल्यो पानी हाल्यो नानाथरी फूल फुलाउन,
फूल मरी झारपात पो मलमल भए के मज्जा ?
No comments:
Post a Comment