Tuesday, November 29, 2011

आमा

रुन्छौं आमा बनपाखामा, म शहरको माझमा,
दियो बाली सम्झँदै हौली, मलाई झम्के साँझमा।
बनका माझ खेतका आली, पानी धारा सँगै,
रातदिन एकैनाश, आकाशका तारासँगै।

गोठालो र घाँस दाउरा, जंगलको बास,
मेलापात पधेरोले छैन, बेलामा गाँस।
सगै हुदाँ साथ मेरो, दाहिने हात थियो,
शहर छिरे अक्षर चिन्न, ढल्छ क्यारे दियो।

हात भरि ठेला होलान्, खुट्टा छिया छिया,
आमा तिम्रो साथी होलान्, चुरोट र चिया।
चुरोटको धुवाँसँग, ख्वाक्क ख्वाक्क खोकी छौ कि?
मलाई छिट्टै लैजा भनी, ईश्वरलाई ढोगी छौ कि?

हरेश खान छोड्नु आमा, छिट्टै गाँउमा आउनेछु म,
दैलामुनि ठुला गह्रा, बहर बाच्छा दाउने छु म।
स्वच्छ हावा पानी मिठो, आफ्नै धारा कुवाको,
बिर्स्या छैन आमा मैले, कोरी पुछि खुवाको।

बस्दिन म शहरमा, आउछु आँशु पुछ्न,
शहरका त खप्पिस रैछन्, सोझा गाँउले लुछ्न।
सवै स्वार्थी घमण्डी, शहरका धनिमानी,
यो शहर त धुलो धुवाँ, प्रदुषणको खानी।

सपनीमा देखेँ आज, आँखा भरि आँशु तिम्रो,
बोल्न पनि सकिनै नी, लठ्ठ थियो जिब्रो।
मैले देख्या सपनी, वास्तविक पो हो कि,
दमसँगै दिनदिनै, बढ्दै छ कि खोकी।

रोगब्याध आफै लियौ, हुर्के बनी तामा,
हरेक पाईला पछ्याउथे, समाउदै जामा।
बुढेसकालमा सेवा छैन, जताततै धामा,
आँशु पुछ्नु हाँसीदिनु, फर्किआँए आमा।

गोठाले दिनको संझनामा

गाईबाख्राको पछिपछि, ढाडखोलाको पानी पिउदै,
ऐसेलु र कटुस खान्थ्यौ. च्यातिएको भोटो सिउदै ।
पल्लो घरकी गंगा बैनि, गोठालाकी असल साथी,
छिइन् अचेल कुन संसारमा, आज सपनीमा आथी ।

              माथिल्ला घरको कृष्णे पनि, अरव तिर पसेपछि,
              तल्लो घर नि शुन्य भयो, हजुर आमा खसेपछि ।
              भोर्ले खोलो उर्लि आउदा, सुसाईसगै पौडि खेल्थ्यौं,
              काउले पानी चौरमा, कोल हाली उखु पेल्थ्यौं ।

खुर्सानी र नुन पिधी, अमिलो र आरु सगैं,
खित्का छोडि हास्दै हास्दै, गट्टा खेल्थे पारु सगैं ।
ठुल्ढुङ्गेको बरको रुख, कोल हालेको बनमा,
चिन्ता पिर केहि थिएन, हाँसो खुशी मनमा ।

              काफल टिप्दा हागो सग,ै ढुङ्गामाथी पछारिदा,
              पिडा भन्दा लाज भाथ्यो, बाटुलीले मसार्दिदा ।
              जंगल भरि गाईबाख्रा, जिउभरि जुगाको बास,
              मोटे काले लुकामारी, हामी खेल्थ्यौ तास ।

कहिले काही त गाईबाख्राले, खेतिबाली सिद्दाउदा,
चिलि कन उठाउथ्यो, कमिलाले निदाउदा ।
गाईबाख्रा हेर्दा होस् कि, दाउरा घाँस खोज्न जादाँ,
बेग्लै स्वादमा रमाउथ्यौ, मकै भट्ट खाजा खादाँ ।

              अतितलाई सम्झी आज, मनको घाउ चराईरह्यो,
              साथी संगी त्यो दुनियाँ, मेरो लागी पराई भयो ।
              बुढा बाबा बुढी आमा,  आँगन भाछ परदेश,
              जति दुःख पीडा  होस्, जन्मभूमी धेरै बेश ।

म, गरिवी र विवशता

कलकल चिसो धाराको पानी, तातो छ कुवामा,
हल गोरु नारी खुर्पेटो बजाई, घुम्या छु जुवामा ।
बाझो छ बारी चिर्नु छ मैले, झरी र खडेरी,
रुखको फेदमा बास छ मेरो, साहुको हो घडेरी ।

चमेली सित काले र भुन्टे, गाई बाख्रा हेर्दैछन्,
पढ्नु र लेख्नु यत्तिकै भयो, धुलोमा केर्दैछन् ।
भारी छ घाँस, भारी छ, भारी छ मनमा पीर,
पेटभरि पाए ढिडोको डल्लो, ठान्छन् मिठो खीर ।

गाँउघरका साथी स्कुल धाँउदा, रसाउछन् यी आँखा,
स्कुल–कलेज, बाबु र आमा, दाता नी बनपाखा ।
सुकेका दाउरा बटुली भारी, लहरा कसेर,
मनको ब्यथा कुर्लदै पोख्छु, डिलमा बसेर ।

बादलले पानी मैे माथी पार्छ, थुरुरु कमाउन,
पुसको ठण्डी ऐया आत्थु, को पाउछ रमाउन ।
साहुको गोठमा गोरुले खान्छ, हरियो घास बरु,
छेपारा नाच्छन् हामरो पेटमा, धन छैन के गरुँ ।

फोरछु बाँझो, फोडछु डल्ला, धान मकै फलाउन,
आगो नै मात्र नचाहिदो रैछ, यो मन जलाउन ।
असारको झरी गाँउबेशी गरयो, खोलाको भेलमा,
आँशुमा डुब्दै जिन्दगी काट्छु, पीडाकै खेलमा ।

एउटै रे मसी, छैटौंमा लेख्ने, उनै रे भावी नी,
गरिव माथी सधैं छ औंशी, के खुल्थ्यो चावी नी ।
नदिनु रैछ एकसरो लाउन, एक पेट खानलाई,
धिक्कार छ भावी, नरोकी राख, छाडिदेउ जानलाई ।

निस्ठुरीलाई अन्तिम पत्र

निस्ठुरी धोके बाज पुजा,
                                खै ! किन खनाएथे मैले तिमीलाई मुटुभरीको माया, अधरभरीको प्यार अनी आत्मा देखिको विश्वाश । मनमा राखी पुजा गरेर मैले तिमीलाई पुजा भनि बोलाउन चाहे तर मेरो पुजा बेकार बन्यो । अक्षता, पाती, नैबेध अनी मेरो निष्ठामा तिमीले लात हानेर धुजा धुजा पार्यौ । सर्पलाई दुध पिलाए पनी विष नै ओकल्छ भन्थे, तिमीलाई पनि त्यस्तै भयो । 
                                                     बधाई छ पुजा तिमीले नयाँ संसार अनी दाम्पत्य जीवन शुरु गरिछौ, तिमी छुट्टै धन,मन इज्जत र प्रतिष्ठाले जुरो बढाउदै छौ होला । म त दिन दिनै तिम्रै यादमा सेती झै भासीइरहे, शायद अब त भासिने ठाउ पनि छै, माथि निस्किने त कुरै भएन । सोचेको पनि थिएन जिन्दगीमा यति धेरै पटक असफल बन्छु भनेर त । 
                                  स्कूले दिनहरु सम्झ त पुजा, आखाँमा राखी नानी बनाएथे, बगैचाको फुल मानी पानी हालेथे । बिफल सारा बिफल । तिमीले मेरा नाममा पठाएका पत्रमा कोरेका शब्द अनी समर्थन गरेका सम्झना, शब्द अनी प्रेम रुपी बाणी सम्झ त ।

                                       मेरो अनुपस्थितिमा त्यी अन्ध्यारा र कहाली लाग्दा ............. म बिनाको जीवन ...........ती त केबल कल्पना रहेछन पुजा । एस एल सी परिक्षाका दिनहरु सम्झ त पुजा, कति रमाइला थिए ती दिनहरु । बन्दको समयमा १८-२० किमी सडक पार गरि हामी कसरी गोरखनाथ बाबाको शरणमा पुगेका थियौ । एक कप चियामा दुई मुख लगाइ पिएको अनी चैतमासको घाममा दहीको चिसो संगै माया बाढेको । हो पुजा अब त यी सब पानामा पनि नकोरिने इतिहास बनिसक्यो । केबल मलाई तडपाइ रहने इतिहास ।

एस.एल.सी परिक्षा पछि तिमीलाई भेट्ने जति प्रयास गर्देथे, तिमी त्यस्को विपक्षमा लाग्यौ । जे होस् तिम्रो मम्मीको न्यानो मायामा आफुलाई भाग्यमानी ठान्दै रमाइ रहे । मेरो ठुलो असफलताको पिडा देखेर माथिबाटै भगवानले तिम्रो मम्मीलाई मेरो सेवा गर्न आदेश दिए जस्तो लाग्यो मलाई । नत्र त आफ्नो छोरा जस्तै ठान्ने तिम्रो मम्मीले त्यस पछी किन बिर्सनु भयो त ? 

            जे होस् तिम्रो मायालाई मुटुमा राखेर उज्ज्वल भविस्यको कामना गर्दै म अध्ययनको लागि पोखरा लागे । तिम्रो फोनको प्रतिक्षामा कैयौँ दिनहरु बिताए । तिम्रो साथ जिवनभरी पाइराखु भनि मनकामनामाइ सँग प्राथना गरे । अह मनकामनामाइले मेरो प्राथना बुझिनन ।

                                    पोखराको ठाउँ बाच्नै पर्यो, बुढा बाबाआमालाई कति दु:ख दिनु । एउटा स-सानो जगिरमा झुन्डिए । बिहानको पढाइ, दिउसो जागिर व्यस्त बने पनि मनभरी तिम्रो मायाको भारी बोकेर दिनरात काट्दै गरे । तिमी गोर्खा क्याम्पस पढ्न थाल्यौ । हुलाक अनी फोनका सुबिधा नभएका होइनन तर तिमीले सम्झनै चाहिनौ । मैले तिम्रो अनी तिम्रो भाईको स्कूलको नाममा दुई वटा पत्र रजीस्ट्री गरि पठाए तर तिमीले कानमा तेल हालेर बसिरह्यौ । मलाई थाहै रहेनछ म त तिम्रो एकोहोरो मायामा डुबेर तिमीलाई माछापुछ्रेको शिरमा उभ्याइ सरङ्कोट्बाट हेर्न लागेछु, फेवा तालको पानीमा डुबुल्कि मार्दै तालबारही मन्दिरमा पुजा गरि रानिवनको शितलतामा रम्न लागेछु । तर मेरा यी सब सपना, लक्ष्य सिसिफसको कथा जस्तै बन्यो अनी नित्से झै भन्न मन लाग्यो : गड इज डेड, आफ्ना भक्तहरुको दुखमा साथ दिएर न्यानो माया दिन सक्दैन भने के भगवान ......?

                               पिडा पिडामै पिल्सिएर दिन बित्दै गए । म तिम्रो मायाको ओत नपाएर पुसको ठन्डिमा झै कठाङ्रीन लागे, साउने झरिमा झै रुझ्न लागे, चैतको घाममा डडिए अनी भदौरे भेल सँगै बगे । खोलो किन माथि फर्किन्थ्यो र पुजा । म मनभरी मायाको पोको लिएर तिमीलाई अर्पण गर्ने प्रतिक्षामा रहे तर तिमी ..........गल्छेडो कुरेर बस्ने हो भने हात्तीको पिठ्युमा पनि ढाप मार्न पाईन्छ भन्थे तर उखान मात्रै रहेछ ।

               तिमीसंगै एक पटक भेट नहुदै तिमीले हाम्रो संसार अल्गाइसकेछौ । मैले तिम्रो फुलरुपी मायालाई हावा, पानी, मलजल गरेर हुर्काउन चाहे तर तिमीले मलाई केबल तुशारो, असिना अनी एसिड मात्र ठान्यौ । बधाई छ पुजा तिमीलाई, तिम्रो माया फुलाएर चारैतिर बास्ना छर्ने अनी मुनामदन बनेर अर्को ईतिहास रच्ने योजना मात्रै होईन तिमीले मलाई बिफल बनाउ । हो पुजा बल्ल थाहा पाए निदाएको भन्दा निदाएको बहाना गर्ने मान्छेलाई ब्युझाउन गाह्रो हुदो रैछ ।

पूजा म तिम्रो लागि तिम्रो यात्रामा ठेस लाग्न पुगेको एउटा ढुङो रहेछु अनी उकाली चढ्दा आएको पसिना रहेछु । आज म तिम्रो मायामा पागल बनेर दिनको भोक न रातको निन्द्रामा छु । पोखराबाट गाउँ जादा हरेकपल तिम्रो मायाको आशामा रमाउदै मनभरी मायाको लालमोहन, रसबरी, पेडा अनी लड्डु तिम्रै लागि ल्याउथे तर अब तिम्रो बस्ती मेरो लागि मरभुमी बन्यो । 

        तिमी माइती गाउँ आउँदा फर्केर पनि माथि डाडातिर हेर्ने चेस्टा सम्म नगर्नु की न की त्यहा मेरो रोइरहेको आत्मालाई जिस्काए सरह हुनेछ । सदा सर्बदा तिम्रो स्वागतमा रम्ने मेरो घरमुनीको हरियो र फुलैफुलको रुख अहिले सुकेर ढलिसकेको छ अनी तिम्रो आगमनको प्रतिक्षामा रम्ने मेरो कटेरी खरानी भैसेकेको छ ।

पुजा, काठमाण्डुको बसाइ साथमा नयाँ संसार चैन छ होला हगि ? ठिक छ मौसमी तिम्रो व्यवहारमा अब एकरुपता आओस । मेरो जीवन दुई दिनको होला तर तिमी हजार बर्ष बाच्नु । माया, ममता, सम्मान र पुरस्कारको सम्मानले पुरिनु । मलाई एउटा लाम्खुट्टे बर्षामा बाँच्नको लागि रगत चुस्न आउने परजिवी भनेर चित्त बुझाउनु जुन माया नपाएर भोकै फर्कियो ।

                                                                                      मैले  तिम्रो जिवनमा जति पिडा दिन आए, कलेजी ददार्न आए हृदय देखि क्षमा चाहन्छु ल र, अब तिमीलाई पिडा त के तिम्रो पाइला पर्ने ठाउमा समेत रहने छैन केवल तिम्रो भलाइका लागि, तिम्रै सफलताका लागि । म कुरुप्, गरिब, अक्षिशित अनी बेसाहारा तिमीसँग सातै जूनी भेट हुने छैन तिम्रो भरिभराउ र उज्ज्वल जिवनका लागि ।

 म जुन बनेर तिमीलाई शितलता छर्न चाहन्थे, फुल बनेर बास्ना छर्न चाहन्थे, अनी तिम्रो मायामा पौडदै माछा झै बाँच्न चाहन्थे । तिमीसंगै ग्रेट्वाल चड्न चाहन्थे । सगरमाथाको शिरमा हाम्रो प्रेम पत्र बिछ्याउदै बिछोडमा तड्पनेहरुलाई मिलनको पाठ पढाउन चाहन्थे, तर मेरा यी लक्ष्यहरु बारमुडा ट्रयाङ्लमा खसे, म्रित सागरमा फसे अनी काचको गिलास सरी फुटे । म जतिसुकै कात्तर र कुरुप भए पनि हाम्रो मायाको हिरो बन्न चाहन्थे, तर आज तिम्रो तिरस्कारमा बिक्षिप्त बनेर जीवन र मृत्‍युको दोसाधमा छट्पट्टाइ रहेछु केबल मृत्‍युको पर्खाइमा ।

 त्यसैले,
मेरा आँखाहरुले तिम्रो बाटो रोजे, तिमीले त्यसलाई कुल्चेर जानु,
कसैले हाम्रो प्रितिबारे सोधे तिमीले त्यसलाई नाइ कथा हो भनिदिनु ।

रामचन्द्र कार्की
आपपिपल -४, राईगाउँ गोरखा
हाल : महेन्द्रपुल, पोखरा
नेपाली प्रेमपत्र ( निस्ठुरीलाई अन्तिम पत्र )

गजल

देशका लागि केही गर लाचार नबन,
जन्तालाई दुखी पार्ने समाचार नबन ।

शासन गर्ने पापी भए देश नै डुबाए,
रक्सीसँग खान मिल्ने अचार नबन ।

तिमी तातो रगत तिमी युवा जोशको,
फोड्न सक्छौ पहाड पनि दिक्दार नबन ।

नेपाल आमा रोइराछिन हेर्ने कसरी,
भस्ट्रचारी पस्न मिल्ने संघार नबन ।

देशको शान र इज्जत मुटुभित्रै राखि,
झुप्रो भित्रै खुशि बन दर्बार नबन ।

गजलहरु

1.
बोकाले दाई हुदैन बुझ,
आँशुमा खाइ हुदैन बुझ ।

पिडाको तिर नहान बरु,
दौरामा टाइ हुदैन बुझ ।

दिन्छ्यौ भने थापुँला हात,
म बाट नाइ हुदैन बुझ ।

बस न बस ढुक्कले बस,
तिम्लाइ बाइ हुदैन बुझ ।

बलेको आगो ताप्छन सबै,
गरीबलाई हाइ हुदैन बुझ ।
 2.
तिमीसँग खेलेको हिजै जस्तो लाग्छ,
कोलमा उखु पेलेको हिजै जस्तो लाग्छ ।

चिच्याउदा तिमी फुकाइ दे थे मैले,
लहराले जेलेको हिजै जस्तो लाग्छ ।

गाम बेसी हाट बजार संगै स्कुल,
कालोपाटी छेलेको हिजै जस्तो लाग्छ ।

लड्दा तिमी परालको भारी बोक्दा खेरि,
आफै लडी ठेलेको हिजै जस्तो लाग्छ ।
         3.

हाँसेर बाँच्न सिक्दै छु म अचेल,
नाचेर बाँच्न सिक्दै छु म अचेल ।

लुकाइ पिडा देखाउदै पिरति,
गाँसेर बाँच्न सिक्दै छु म अचेल ।

पिरको गोली थापी मैले छात्तीमै,
टाँसेर बाँच्न सिक्दै छु म अचेल ।

पाएँ नी पाएँ नपाए नी ममता,
साँचेर बाँच्न सिक्दै छु म अचेल ।

बसाई बस्ती मायाले त्यो शत्रुता,
माँसेर बाँच्न सिक्दै छु म अचेल ।
 
4.
उनको मरो भेट पैले भाको जस्तो लाग्छ,
रानी बनमा संगै गीत गाको जस्तो लाग्छ ।

बल्ल मलाई याद आयो सँगै स्कूल पढ्दा
एउटै मिठाइ पालैपालो खाको जस्तो लाग्छ ।

गैरी गाँउकी सानी उनी डाँडा घरे हामी,
गढी माइको मेलाबाट आको जस्तो लाग्छ ।

लामो कपाल राता गाला बारुले ती कम्मर,
घाँस दाउरा गर्दा माया लाको जस्तो लाग्छ ।

5.
जनताको मुखमा रामराम छ,
यता सरकारमा धुमधाम छ ।

म्याद थपी तलब भत्ता पकाए तर,
तरबारको धारमा संबिधान छ ।

न पाए संबिधान न त शान्ति छ,
जनताको भोटको अपमान छ ।

खायो खेल्यो हल्लियो देश बिदेश,
नकचरा मन्त्रीको न त काम छ ।

सर्कार आयु थप्न दिल्ली जाने रे,
कलंकी बानेश्वर पुरै जाम छ ।

गजल


जेजे भयो भइ गयो, अतितलाई बिर्स नेता,
संबिधान बनाउन, सबै मिली घिर्स नेता ।

कयौ बिते जेठ चौध, भदौसंगै मङ्सिर पनि,
तिमीलाई मस्ती भाछ, जनतालाई पिर्छ नेता ।

सर्बोच्चको आदेश छ, छ मैनालाई म्याद थप,
संबिधान नबेन त, देशको शिर गिर्छ नेता ।

सत्ता पक्ष प्रति पक्ष, नभनेरै सबै दलले,
संबिधान जारी गर, जिम्मा दलका शिर्ष नेता ।

रोल्पा अनि झापा संगै, मेचिकाली नजर देउ,
हामी मिले आपसमा, देशले दु:ख चिर्छ नेता .

मुक्तक

तिमीलाई मैले अन्जानमै मुटु भित्र सजाएछु,
चुरा पोते सुम्पिएर पन्चे बाजा बजाएछु ।
ब्युँझिदा त झसङ्ग म डोली चढि गईछौ तिमी,
आफैलाई धिक्कार्दै कयौ दिन लजाएछु ।

Sunday, November 27, 2011

बलत्कार गरिरहेछन ६०१

ऐया
आत्थु
निरन्तरताको चित्कारलाई
हासोमा उडाउदै
बलत्कार गरिरहेछन ६०१ ।

स्वतन्त्रतालाई मुठ्ठिमा कसेर
बोत्तलको आडमा जिब्रो फट्कार्दै
हासिको फोहोरामा
निर्दोष संबिधानलाई
बलत्कार गरिरहेछन ६०१ ।

निश्चित समय सकिदा पनि
समय थपी थपी, पिडा माथि पिडा दिइ
बोल्ने त्यो मुख थुनी
चल्मलाउने हात खुट्टा बाधी
निवस्त्र अनी निसस्त्र
सबिधान माथि
बलत्कार गरिरहेछन ६०१ ।

सत्ताको स्वाद चाख्न
सडकमै खाए सडकमै नाचे
पालैपालो वारी पारी गर्दै
सत्ता लिप्साले युक्त भइ
संबिधानको अस्थित्व माथि
बलत्कार गरिरहेछन ६०१ ।

लुटिरहेछन खुशी
भुटिरहेछन इच्छा
भुम्रोको माछो  बिचरो संबिधान
चिच्याइ रहेछ
बिन्ती बचाउ मलाइ बचाउ
मानव नभै दैत्य रहेछन यि
संबिधानको मुर्छनामा
उटपट्याङ हासोको फोहोरामा
मय राक्षस गर्जिए सरी गर्जदै
बलत्कार गरिरहेछन ६०१ ।

मेची रोयो काली रोयो
रोल्पासगै गोरखा रोयो
गोरखालिको सान गिर्यो
नेपालीको मान बिग्र्यो ।
तैपनी छाडेनन यो ६०१ ले
बलत्कार गरिरहेछन ६०१ ।

६०१ को तलब सरी
बढीरहेछ महङगी
रातदिनको लोडसेडिङग
भष्टचारसगैको हिंसा
घटिरहेछ त केबल संबिधानको आशा
तुहिने नै भयो आशा
बलत्कार गरिरहेछन ६०१ ।

बलत्कारीहरु चोर र फहाटाको अर्को पाटो,
दिउसै बिजुली चोर्छन
रातो पासपोर्ट बेच्छन
अनी
एकाबिहानै मादको नशामा डुबेर
जनतालाई धम्की दिन्छन
तेरी संबिधान फर्किदैन अब
बलत्कार गरिरहेछन ६०१ ।

रातभरी जाग्राम बस्छन
आँखा चिम्लिएर म्याद थप्छन
यसरी नै बर्सौ काट्दै
बलत्कार गरिरहेछन ६०१ ।

 रामचन्द्र कार्की
आपपिपल-४, राईगाँउ
गोरखा ।
मोबाइल ९८४६०३५४२४