Thursday, January 19, 2012

गजलहरु:

गजल १ 
गोली छाड्ने बन्दुकको नाल देखि डर लाग्यो,
पाइला पाइला तर्साउने छाल देखि डर लाग्यो ।

शक्तिशाली सूर्यमा त ग्रहण पर्छ कहिले काहि, 
अजम्बरी के बाँचुला काल देखि डर लाग्यो ।

न त खाँए तिखो बचन न त दिए कसैलाइ,
बाँच्छु भन्छु इज्जतले गाल देखि डर लाग्यो ।

दरौदीको सङ्लो पानी बरिखामा लेदो बग्छ,
त्यै पानीमा माछी बन्दा जाल देखि डर लाग्छ ।

महाभारत यहि हुन्छ कुरु क्षेत्र सधै सधैं,
सकुनी र दुर्योधनको चाल देखि डर लाग्छ ।

गजल २
सागर भन्थ्यौ तिम्रो माया सुकी छाड्यौ आखिर,
मेरै मनमा बस्छु भन्थ्यौ घुमी छाड्यौ आखिर ।

अङ्गालेर यो माछीलाई झिक्यौ सागरबाट पनि,
अग्रेठको माझमा फाली लुकी छाड्यौ आखिर ।

मखमली र गुलाबसँग दाँज्थ्यौ आफैलाइ,
पत्थरको के फुँइ लाउछौ चुकी छाड्यौ आखिर ।

अटल छू म बचनमा पूरा गर्छु भन्थ्यौ,
बाँस जस्तो लम्किएर झुकी छाड्यौ आखिर ।

हिंडे म त बिदेश

आफ्नै देशमा केही गरौ भन्ने जोश थियो,
सुन्दर शान्त हराभरा राख्ने सोच थियो ।
यहि माटोमा पसिना पोखी पोखि हासौ,
भन्थेँ हामी एकै घरका मिलिजुली बाचौँ ।

तँ यो पाटी म यो पाटी घरमै हानाथाप,
पदको लागि तछाड मछाड भाछ काटाकाट ।
एउटाको काम राम्रो देखे अर्को खुट्टा तान्छ,
उ भन्दा त मै अगाडी सर्वेसर्वा ठान्छ ।

गाउ घर देशको ब्यथा उस्तै उस्तै यहाँ,
आफ्नैले आफ्नैले लुछ्दा लुछ्दै यहाँ ।
आँशु मात्रै आँखामा छ, बेचैनीले सास्ति,
पिटी पिटी रुन मन लाछ मलाइ छात्ती ।

रोयो मेची रोयो काली रोयो राजधानी,
जनता सब मगन्ते छन् नेता खान्दानी ।
पाँच बर्ष भो खान थाल्या अझै अघाछैनन्,
दिमाग भरी गोबर रछ बुद्धी जगाछैनन ।

जातततै महङी छ कालो बादल देशभरि,
सान्तवनाले मन बुझेन रित्तो पेटभरी ।
अन्तत: मैले पनि हात लाँए पासपोर्ट,
देशको माया मुठ्ठि भित्र सहेँ मात्री चोट ।

जन्म दिने आमा र जन्म भुमी छाडी,
शिक्षित तर बेरोजगार लागे म त खाडी ।
सेवा गर्न नसके नी माया मार्ने छैन् ,
आमाको र देशको माया कतै सार्ने छैन् ।

साबधान लामखुट्टेहरू

क्रान्तिको नाँउमा
चिच्याटलाग्दो बिगुल फुकेर
रगत चुस्न नखोज लामखुट्टेहरू
तिमीहरूको सुँडको तिख्खरता
सजिलै नाप्छ हाम्रो शरीरले ।

ओसिलो र चिस्यानको बास
छिनमै सागर र मरुभुमी बन्नेछ,
त्यति बेला दया त मलाइ लाग्नेछ तिमीहरू माथी
किन की तिमीहरू
न त खरानी हुने छौ न त बालुवा
मात्र हुनेछौ हाम्रो पन्जामा ।

तानासाही रुप धारण गरेर
रगतको शिकारमा लम्कन छाड अब,
फलफुलमा पनि बिष प्रयोग छ ।
मच्छदानीसंगै आएका तरल पदार्थ
तिम्रो बिनासको लागि सलबाऐरहेछन ।

साउने झरीमा यदाकदा आवाज भर्थ्यौ तिमी
आजकाल क्रान्तिको भुत चड्यो की क्या
मङ्सिरको चिसो र चैतको खडेरिमा समेत
मौशमी प्रबाह नगरि
एकछत्र शोशणको नङ्रा फिजाउदै
सुँडको धार मिलाउदै चिप्लो घसी निरन्तर
रात र दिन नभनी उज्ज्यालो अन्धयारो नभनी
हत्या र हिंसामा उद्देलित छौ ।

औलो ज्वरो, हात्तिपाइले, मलेरिया
आदि आदि रोगको किटाणु फैलाउदै
भ्रम हटाउ मानब बिनाशको
याद गर मनुस्यको समाप्तीसंगै
तिम्रो समाप्ती निस्चित छ
तर यो सम्भव छैन,
तिम्रो भन्दा पहिला मनुस्यको समाप्ती ।

तिम्रो दमनले हामीलाई बाँच्न सिकाएको छ,
तिम्रो अत्याचारले हामीलाई पढाएको छ,
क्रान्तिपछीको सत्ता पनि निरन्तरतामा टिक्न सक्दैन ।
सुँड रोपी रोपी कर्कश आवाजले सास्ती दिदै,
अचेत बनाउन नखोज मान्छेलाई
हामि प्रतिरोधका लागि तयार छौ ।

तिम्रो अन्यायको सिमा नाघिसक्यो,
सिथिल हाम्रा हातहरू हतियार पूर्ण छन्
डरमा कापिरहेकाहाम्रा मन
आफै पलाएका ढाडसमा,
तिम्रो आक्रमणको प्रतिक्षामा छन् ।

त्यसैले त होसियार लाम्खुट्टे
आफ्नु अस्तित्व बचाउनु छ भने
सुँडको रक्षा गर्नु छ भने
मानव बस्तिबाट टाढा भाग
नत्र खैरियात छैन
होसियार लाम्खुट्टे ।

दुई टुक्रा मुक्तक

तिमी धनी म गरिव फरक यत्ति हो,
तिमी बिद्धान म हरिप फरक यत्ति हो ।
आफ्नै गुण आफ्नै दोष हुन्छ सबैको,
तिमी ल्वाङ म मरिच फरक यत्ति हो ।

मैले आफ्नु जिवनलाई टिलाहरुमा खोजेँ,
गुलाब फूल पन्छाएर शिलाहरुमा खोजेँ ।
फूल काँडा पत्थर छाल फरक परिभाषा,
बुझिकनै मैले जीवन किलाहरुमा खोजेँ ।

यस्तो पिरती

पिरतीको के कुरा भो ज्यानै गलाउने,
माछो माछो भ्यागुतो सरी छलाउने ।
चल्न गाह्रो यो संसार पिरतीको खातिर,
स्वर्ग नर्क घामपानी देखाइ छाड्यो आखिर ।

हाम्रो सानो संसार थियो पिरतीको आडमा,
भबिस्यका कुरा हुन्थे सिट हुन्थ्यो काखमा ।
दरौदीको पानी भन्दा सङ्लो हाम्रो माया,
मनकामना र गोरखनाथ हाम्रै दाँया बाँया ।

मुस्कुराउदा उनले त्यहा लालिगुँरास लजाउथ्यो,
लिगलिगले सल्लासंगै शंख घन्टा बजाउथ्यो ।
हिमाल चुली जिस्काउथ्यो मुनामदन भन्दै,
हाँस्थ्यौ हामी खुशि हुन्थ्यौ रिसाएनौ बन्दै ।

सधैं भरी एकै खालको हावा चल्दो रहेनछ,
उनको मनले मेरो हासो खुशी केही सहेनछ ।
बाचा कसम आबेगमा रे माया नाटक अरे,
छाडि गइन उनले मलाइ जिउदैमा मरेँ ।

न त धनको पछि लागिन न त मनको,
म पनि त घरकै थिएँ थिइन बनको ।
माया गर्न जानिन की थाम्न सकिनन्,
राता आँखा तरी गइन् तर फर्किनन ।